काठमाडौँ, ६ कार्तिक । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।
उनका अनुसार उनीहरूले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।
उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरूलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।














