सप्तरी, ४ कार्तिक । आज बिहान सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ यात्रु घाइते भएका छन् ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस बिहान ७ बजे कञ्चनरुप नगरपालिका बरमझियामा दुर्घटना भएको छ ।
दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २६ जना मध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।