जनकपुर, २ कार्तिक । शुक्रवार बिहान महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन खेतमा लगाइएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए अनुसार गौशाला नगरपालिका–३ पचाननटोलका बिनोद महतोले लगाएको विद्युतीय बारमा करेन्ट प्रवाहित नाङ्गो तारको कारण १४ वर्षीया करिना महतोको घटनास्थलमै मृत्यु भएको छ ।
करिनालाई करेन्ट लागेको देखेपछि बचाउन गएकी १८ वर्षीया राधा कुमारी महतो र १४ वर्षीया विभा कुमारी महतो पनि घाइते भएको स्थानीयले बताएका छन ।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।