जनकपुर, १ कार्तिक । हिजो नै कोजाग्रत पूर्णिमा रहेको र आज जानकी मन्दिरमा कोजाग्रत पूर्णिमा पर्व मनाउन लागेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभएको छ ।
मिथिलामा बसोबास गर्ने मैथिल ब्राह्मण समुदायका नव विवाहित बेहुलालाई कन्या पक्षबाट आएका पान, मखान, दही, सुपारी सहित डालामा राखेर पाहुर पठाउने चलन रहेको छ । यसका साथै नयाँ वस्त्र सहितका मिष्टान्नहरू पनि आउने गरेका छन् । सोही सामाग्रीहरूले बेहुलाको चुमाओन गर्ने गरिन्छ । शरद पूर्णिमामा मनाइने हुनाले यस दिन जानकी मन्दिरमा सोही अनुसार नै भगवानको आज साझ चुमाओन गरिन थालेको छ ।
कोजाग्रत पूर्णिमाका विधि हेर्नका लागि जानकी मन्दिरमा ठूलो भिड रहने गरेको छ । गृहस्थ आश्रममा हिजो राति नै कोजाग्रत पूर्णिमा मनाइएको छ ।यसमा बेहुलाको चुमाओनपछि घरमा आउने आमन्त्रीतहरुलाई पान, मखान, दिनुका साथै ईष्ठ मित्रहरूलाई विभिन्न प्रकारका परिकारहरू तयार गरेर भोजन गराउने चलन रहेको छ ।