जनकपुर, १ कार्तिक । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको निर्माणाधीन भवनको बिहीबार भ्रमण गरी अवलोकन गर्नुभएको छ ।
यो भवन जनकपुरधाम उपमहानगरपालिका–८ मा निर्माण भइरहेको छ । मुख्यमन्त्री सिँहलाई कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामसरोज यादव, धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी, श्याम शशिलगायतका प्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो ।
प्रदेश सरकारको सात करोड रूपैयाँको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको यो भवनमा विभिन्न सांस्कृतिक गतिविधिहरूको आयोजना गर्नका लागि विशेष कोठाहरू समावेश गरिनेछ ।
यसमा साँस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष र सेमिनार हल जस्ता सुविधाहरू रहनेछन् । मैथिली विकास कोषको स्थापना २०५८ सालमा तत्कालीन जिल्ला विकास समितिद्वारा गरिएको थियो ।
यो कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव र अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । यसका साथै, कोषले गत तीन वर्षदेखि मासिक कथा एवम् कवि गोष्ठीको आयोजना पनि गरिरहेको छ ।
मैथिली भाषा र साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको यो कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।