काठमाडौं, २८ असोज । सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको उपचारका क्रममा मृत्यु भएको छ ।
गत १० र ११ गते आएको अविरल वर्षापछि बाढी–पहिरोमा उद्धारका लागि खटिएका उनको सोमबार बिहान नेपाल एपिएफ अस्पताल बलम्बुमा मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो ।
बडुवाल सोही बेसमा साउन ३ गतेदेखि टिम कमान्डर थिए । सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायत स्थानमा परिचालित थियो ।
पछिल्लो समय असोज १०–११ गतेको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो ।
ज्वरो लगायतका समस्या देखिएपछि बडुवाललाई असोज २६ गते नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गराइएको थियो ।
उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको डिएसपी थापाले बताए ।