काठमाडौं, २७ असोज । देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ ।
काठमाडौँ उपत्यकामा आइतबार न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, शनिबार १६.५ डिग्री सेल्सियस थियो । यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ ।
समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ । नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो ।
मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन् । मनसुनको बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ ।
यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन् । यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको छ ।