मकवानपुर, २६ असोज । करेन्ट लागेर शनिवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ ।
चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।
उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी ९ वर्षीया र हेटौंडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभएको छ ।
सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।