जनकपुर, २२ असोज । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ ।
नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा छ ।
मिथिला क्षेत्रमा दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ ।
यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ ।
आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्न हिन्दू मैथिलले तयारी गरेका छन् । षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ ।
देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् ।
मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने छ । सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ ।