काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।
तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाले जानकारी दिको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम शाखाको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ’, झाले भने, ‘तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधरणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।
महाशाखाले मंगलबार साँझ जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।
विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।