जनकपुर, १५ असोज । महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरा गाउँपालिकामा गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने बताएका छन ।
सोमबार पिपरा गाउँपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताए ।
अध्यक्ष यादवले भने आगामी दिनहरूमा समितिले दलितहरूको हक र अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । समितिलाई विभिन्न कार्यक्रम तथा दलित समुदायलाई विकास उत्थान कार्यक्रमहरुका लागि दश लाख रुपैयाँको विनियोजन गर्ने बताएका छन ।
छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा पिपरा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राजेश कुमार दासको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको छ ।
सो समितिमा सदस्यहरुमा पिपरा गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष विदेही पासवान, दलित कार्यपालिका सदस्य लिलम मण्डल,शोभा देवी,रिता देवी महरा,रामसखी देवी,दलित अधिकारकर्मी गुरुशरण पासवान र अनिता देवी खत्वे, राजनैतिक दलबाट संतोष कुमार पासवान, राजकली देवी सदा,रामप्रताप पासवान,रामनाथ पासवान,रामजानकी पासवान रौदी पासवान र पिपरा गाउँपालिकाका सामाजिक विकाश शाखा अधिकृत राजिब कुमार झा रहेका छन ।
उक्त समिति गठन कार्यक्रममा पिपरा गाउँपालिकाका जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा राजनैतिक दलका दलित प्रतिनिधिहरु लगायतका वक्ताहरुले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु आगाडी सारेको छ ।
सो समिति गठन कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघ धनुषा अध्यक्ष कुलदीप दाससमेतको उपस्थितीमा उक्त समिति गठन भएको छ ।