काठमाडौं, १३ असोज । स्याङ्जाको गल्याङ नगरपालिका निवासी जुम्ल्याहा दाजुबहिनी दिपेश र दीपिका भट्टराई शुक्रबार बुटवलबाट विङ्गर (बस) चढेर काठमाडौंका लागि निस्किए ।
बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८नम्बरको विङ्गरमा उनीहरूकी आमा सीता भट्टराई पनि साथमै थिइन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत यी जुम्ल्याहा दाजुबहिनीको योजना थियो बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ प्रतिस्पर्धामा भाग लिनू ।
शुक्रबार बुटवलबाट छुटेको उक्त विङ्गर त्यही राति धादिङको धुनबेँसी नगरपालिका वडा नं. ९ स्थित नागढुंगा–नौबिसे सुरुङमार्ग नजिकै झ्याप्लेखोलामा आएको लेदोसहितको पहिरोमा पुरियो ।
अहिले पनि उद्धारकार्य जारी रहेको त्यही झ्याप्ले खोलाको पहिरोमा जुम्ल्याहा दाजुबहिनी र उनीहरूकी आमासहित ३५ जनाको शव सुरक्षाकर्मीले झिकिसकेका छन् । पढाइमा अब्बल दुवैजना ३२ राष्ट्रका विद्यार्थी सहभागी हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश जाने गरी आमासँगै काठमाडौंतर्फ गएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खबरहबलाई बताए ।