जनकपुरधाम, १३ असोज ।
तीन दिनको अविरल वर्षासँगै आएको बाढीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । बाढीमा परी १ जना बेपत्ता भएका छन् । मधेशको ८ वटै जिल्लामा ८ जना घाइते भएका छन् भने सबैको अवस्था समान्य रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराले सप्तरीमा १ र महोत्तरीमा २ जना गरी ३ जनाको मृत्यु भएको छ । भने सर्लाहीमा १ जना किशोर बेपत्ता छन् । सप्तरी बलान बिहुल गाउँपालिका ४ घर भइ राजविराज नगरपालिका–८ मा बस्दै आएका ८ वर्षीय प्रीन्सकुमार साहको ज्यान गएको छ ।
त्यस्तै महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको हो । महोत्तरीकै बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खैरमारा खोलाले बगाएर मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक बोहराले बताए अनुसार ९६ घरका परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । उनले गौर कारागारमा बागमती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा : कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित रुपमा राखिएको बताए ।