जनकपुर, १२ असोज । लगातार परेको बर्षाको कारण मधेश प्रदेशको राजधानी जनकपुर जलमग्न भएको छ ।
वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरका अधिकांश सडक तथा गल्लीहरूमा पानी पसेको छ ।
साँझसम्म जनकपुरको ‘सिक्स लेन’ सडकमा आधा पानी जमेको थियो । जनकपुर केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी पसेको छ ।
बाह्रबिघा मैदान पोखरीमा परिणत भएको छ । जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा दुईफिट गहिरो पानी जमेको छ । जनकपुर डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।
नालाहरू जाम हुनुका साथै उपयुक्त डिजाइन नगरी निर्माण भएका सडक तथा नालाको कारण जनकपुरमा पानी निकासमा समस्या रहेको छ ।