काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको विदितै छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो”, राष्ट्रपति पौडेलले भने, “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवं प्रभावकारी नवीनतम् प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”
उनले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब) का रूपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गर्दै यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरे ।
चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए। महामानव बिपी कोइरालाको स्मृतिमा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ ।