काठमाडौँ, ८ असोज । सरकारी वकिलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उसकै कार्यालयमा मंगलवार बयान लिएको छ । उनीसँग करिब २ घण्टा बयान लिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभएको छ ।
बयानका क्रममा प्रसाईंले आफूमाथि लागेको आरोप स्विकारेका छन । यसअघि सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको थियो ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलवार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौँसँग उनलाई पक्राउ गर्नुको कारण मागेको छ ।
मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको थियो ।
प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।