जनकपुर, ६ असोज । सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर–ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाहरुले चक्काजाम गरेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा वडा नम्बर –४ का स्थानीयहरुले सडक अवरुद्ध गरेका छन । आज बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरु सडकमै धर्ना बसेर यातायात अवरुद्ध गरेका थिए ।
भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साह होस्टेलमा मृत फेला परेको थियो ।
घटना शंकास्पद रहेको भन्दै पीडित परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । घटनाबारे स्कुलले ढिलो जानकारी दिएका थिए । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाएको र घटना शंकास्पद रहेको मृतक रजनीशका बुवा गणेश साहले बताए ।
विद्यालयका सञ्चालक, प्रिन्सिपल र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी विद्यालयको पक्षमा उभिएको गणेशले आरोप लगाएका छन । मृत्यु घटना पश्चात् उनीहरूले विद्यालय अगाडि केहीदिन धर्ना दिएर प्रदर्शन गरेका थिए ।