काठमाडौं, ३० भदौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् ।
तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका छन् ।
सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो ।
तर सर्वोच्च अदालतले समेत अनुमति दिएपछि उनले जेलबाटै दिल्लीको सरकार चलाए । सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
आफूमाथि चोर, भ्रष्टाचारी जस्ता आरोप लगाएको भन्दै उनले सत्ताबाट पैसा, पैसाबाट सत्ताको खेल खेल्न नआएको दाबी गरे । १४ वर्षपछि भगवान राम बनवासबाट फर्किदा सीताले अग्नि परीक्षा दिनुपरेको भन्दै केजरीवालले भने, ‘आज म जेलबाट आएको छु र अग्नि परीक्षा दिन तयार छु ।
अबको केही महिनापछि दिल्ली विधानसभाको चुनाव हुनेछ । यदि केजरीवाल इमान्दार हो भन्ने लाग्छ भने आफ्नो पक्षमा भेट दिन उनले आग्रह गरे ।