काठमाडौं, २४ भादौं । ललितपुरमा आफ्नै छोरीको हत्या गरी खोलामा फालेको आरोपमा आमा पक्राउ परेकी छन् ।
काभ्रेको पनौती घर भै हाल अस्थायी रुपमा ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी २३ महिने छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।
गएको साउन २७ गते बालिका पृन्सिका आफ्नै घरबाट हराएकी थिइन् । खोजतलास गर्ने क्रममा प्रहरीले साउन २८ गते बिहान सिलिङ्गेबेसी आपबोटमा रहेको ठोस्ने खोलामा पानीमा डुबी मृत अबस्थामा रुखको हागामा अड्किएर रहेको अबस्थामा बालिकाको शव फेला पारेको थियो ।
घटनालाई अन्त्यन्त संवेदनशील र सङ्कास्पद रुपमा लिई प्रहरीले सुक्ष्म तवरले सोधपुछ तथा अनुसन्धान गर्दा बालिकाको आमा प्रमिलाले हिर्काउँदा बालिका बेहोस भएपछि सोही खोलामा फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले भदौ २४ गते प्रमिलालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई प्रहरी बृत्त चापागाउबाट बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।














