काठमाडौं, २१ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीको पहिलो अधिवेशनको तयारी सुरु गरेको छ ।
आउँदो २०८२ सालको वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभएको छ ।
महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत पार्टीले गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो ।
पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ । सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ ।














