काठमाडौं, १६ भदौ । विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ ।
रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो । लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् ।
बचत फिर्ताका लागि सरकारलाई दबाब दिन सिमसिम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी हानेको हो ।
उनीहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर जस्ता नारा लेखेको ब्यानर बोकेका छन् ।














