काठमाडौँ, ११ भादौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय गठबन्धन अनैतिक भएको बताएका छन् ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।
बिचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका थिए ।
तर सता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउनका लागेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउन मिलेका हुन् ।
अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारबाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिति, भ्रष्टाचारको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।
आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गरे ।














