काठमाडौं, ७ भादौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १४ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले जानकारी दिनुभएको छ । भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ ।
उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ । बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो ।
बस अझै पनि पानीमै छ । प्रारम्भिक रूपमा बसमा ३५ जना भएको जानकारी पाइएको छ । १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ ।
प्रारम्भिक जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन् ।














