जनकपुरधाम, ७ भदौ । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ ।
वार्ताबाट चार बुँदे सहमति भएपछि समितिले आफ्नो आन्दोलन स्थगन गरेको छ । समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र संघ सरकारबाट बजेट उपलब्ध नगरिएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति भएको बताइएको हो ।
सहमति पत्रमा मुख्यमन्त्री सतिशकुमार सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन् भने गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।














