जनकपुरधाम, १८ साउन । हत्या गरिएका धनुषाधाम नगरपालिका २ का भोगेन्द्र ठाकुरको विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ ।
हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको छ भने ठाकुरकी श्रीमती श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिएका छन ।
गत सोमबार बिहान हत्या भएका ठाकुरको शवसहित मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालगायतले हस्ताक्षर गरेका छन्