काठमाडौं, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी÷अनुत्तीर्ण ) भएका छन् भने परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो भने देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।














