जनकपुरधाम, १७ साउन । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् ।
स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुर बजारमा प्रदर्शन गरेको छ । स्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरको रामचोक, जाकचोक शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गरेको थियो ।
ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो ।
तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले शव जलाउन रोकेको थियो भने ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छिन् ।
हत्या आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
तर ठाकुरलाई ऋण दिने शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।