पाटन, १६ साउन । गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ ।
बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।














