काठमाडौँ, १२ साउन । नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले टिप्पणी गरेका छन् ।
सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनले बताए ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।
कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनले भने । अध्यक्ष यादवले कम्युनिस्ट पार्टीहरूमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दाबी समेत गरे ।