काठमाडौँ, १ श्रावन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ ।
भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ ।
यसैगरी चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा(३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर(६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३(००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३(००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिनुभएको छ ।