जनकपुरधाम, २८ असार । काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुईवटा बस त्रिशूली नदीमा खस्दा ६५ यात्रु बेपत्ता भएका छन् ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सिमताल भन्ने स्थानमा बिहान साढे ३ बजेतिर लेदोसहितको पहिरो पर्दा दुबै बस त्रिशूली नदीमा खसेको थियो ।
दुबै बसमा चालकसहित करिब ६५ यात्रु रहेको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३,००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएको छ ।
गौर आउँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु सबार रहेको अनुमान गरिएको छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।
त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको छ । खसेका दुबै बसको यात्रुको उद्धार तथा खोजी कार्यका लागि घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी खटिएका छन् ।
गौर आउँदै गरेको बसको झ्यालबाट भने तीन यात्रुले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।














