विराटनगर, २७ असार । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको छ ।
बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब साढे १० बजे शव फेला परेको डीएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । बजगाईंको खुकुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए ।
घटनापछि दुई जना नै फरार रहेको प्रहरीले जनाएको छ । हत्या फर्मभित्रै भएको र काम गर्ने व्यक्ति पनि फरार रहेका कारण हत्यामा कामदारको संलग्नता हुनसक्ने प्रहरीको आशंका गरेको छ ।
घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।