विराटनगर, २५ असार । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ, दुई जना गम्भीर घाइते भएका छन् ।
सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको थियो । सो घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ ।
उनका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये रायको कोख र ढाडमा गम्भीर चोट छ ।
मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले घाइतेहरु अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । ग्याङफाइटका क्रममा एउटा समूह भागेको थियो । घाइतेहरुलाई बटुवाले अस्पताल पु¥याएका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको छ ।
प्रहरीले घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । सोही मोबाइलबाट घटनामा संलग्नहरुसम्म पुगेको थियो । आइतबार युवाहरुका दुई समूहबीच युवती जिस्क्याएको विषयमा विवाद भएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएको दिए ।
पक्राउ परेका पक्षकी युवतीलाई मृतक तथा घाइते पक्षका युवाहरुले जिस्क्याएको पाइएको प्रहरीको भनाइ छ ।