कञ्चनपुर, २४ असार । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एक किशोरी बेपत्ता भएकी छिन् ।
पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन ।
जोशीका अनुसार सृजना र लक्ष्मीको शव भेटिएको छ । आरती बोगटीको अवस्था अज्ञात छ । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् ।
प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारै जना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा परेको छ ।