जनकपुर, २२ असार । मधेश सरकारबाट आज चार दल ६ मन्त्री हटाउने भएको छ ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई सरकारबाट हटाउन लागेको छ ।
मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीहरुलाई राजीनामा बुझाउन आग्रह गरेका छन् । २५ जेठमा जनमतका सिंहको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र अर्थ र उद्योगा वाणिज्य तथा पर्यटन मन्त्राल, एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय लिएको थियो ।
यस्तै एक÷एक सिट भएको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात मन्त्रालय र संघीय समाजवादी पार्टीले गृह संचार तथा कानुन मन्त्रालय लिएर सरकारमा छन् ।
केन्द्रमा कांग्रेस र एमालेको समीकरण भएपपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको थियो । त्यस अनुसार मधेशमा कांग्रेसलाई सहभागी गराउन लागिएको छ ।
माओवादी केन्द्रका दुई मन्त्रीले भने राजीनामा नदिने स्रोतले जनाएको छ । सरकारले हटाओस् भन्ने मनस्थितिमा माओवादी छ । एकीकृत समाजवादीका मन्त्रीले भने आज राजीनामा बुझाउने तयारीमा छन् ।
एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले आज राजिनामा बुझाउने बताए ।
मुख्यमन्त्री सतिश सिंहले आज विश्वासको मत लिन समेत लागेका छन् । त्यसअघि उनले चारदललाई हटाएर कांग्रेस र लोसपालाई सरकारमा भित्र्याउने तयारी गरेका छन् ।