काठमाडौं, १८ असार । नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।
मंगलबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने सहमति गरेको छ । योसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न लागिएको छ ।
यसका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । साथै उनले परिवर्तित अवस्था बुझेर प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने विश्वास गरिएको बताए ।
आज हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ । लगत्तै नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन्छ’, बर्तौलाले मंगलबार बिहान भने, ‘यो अवस्था सबै बुझेर सायद प्रधानमन्त्रीज्यूले बेलुकीसम्म राजीनामा दिनुहुन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।
सम्भवतः आजै बेलुकीसम्म नयाँ सरकार बन्ने सम्भावना छ, उनले भने ।