काठमाडौं, १९ चैत । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढाइएको छ ।
योसहित जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रदेशमा एमाले–माओवादी–नेकपा एसको गठबन्धनमा ५५ जना सांसद छन् ।
११० सदस्यीय रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद चाहिन्छ । उनले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका थिए ।
तर, निर्णयविपरीत बज्राचार्य मन्त्री बन्न गएको भन्दै हानेपाले उनलाई कारबाही गर्ने बताएको छ । प्रदेशमा उक्त पार्टीका २ सांसद छन् ।