काठमाडौँ, १५ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन कायमै राखेको छ ।
नयाँ गठबन्धन बनेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर समर्थन मागेका थिए । जवाफमा अध्यक्ष ठाकुरले ‘पहिला जस्तो थियो, त्यस्तै रहन्छ’ भनेका थिए ।
लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले भने, पार्टीबाट नयाँ निर्णय नआएसम्म मधेस प्रदेश सरकारसँग जस्तो सम्बन्ध छ, त्यो कायम राख्ने ।
पार्टीले मधेस सरकारको बारेमा हालसम्म कुनै नयाँ निर्णय नगरेको बताउँदै उनले लोसपा सरकारमा सहभागी रहेको र त्यसबाहेक जसपासँग अरू कुनै सम्बन्ध नरहेको उनले भने ।
लोसपा अहिलेको सत्ता गठबन्धनको विपक्षमा छ, तर मधेस प्रदेशमा के गर्ने भन्ने बारेमा कुनै निर्णय नभएको तेता सोनलले बताए । सरकारलाई समर्थन दिएका कुनै पनि दललाई सरकारबाट नहटाउने बताउँदै उनले यसअघि सरकार छाडेका कांग्रेस, जनमतलाई पनि मुख्यमन्त्रीले नहटाएको बरु उनीहरूले नै आफैँ राजीनामा दिएर हिँडेको जसपाका प्रवक्ता समेत रहेका मधेस प्रदेश सभा सदस्य मनिष सुमनले बताए ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा पहिलो पार्टी बनेको एमालेको २३ सिट दोस्रो दल कांग्रेसको २२ सिट र तेस्रो दल बनेको जसपाको १९ सिट छ । यस्तै जनमतको १३ सिट, लोसपाको ९ सिट, माओवादी केन्द्रको ८ र नेकपा एकीकृत समाजवादीको सात सिट छ ।














