काठमाडौं, १२ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रूपमा मात्रै रहेको बताए ।
सोमबार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्त्व बढाउने स्पष्ट पारे ।
उनले मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धी बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताए ।
नेपालको विविधतालाई एकतामा बाँधेर सहमतिको बाटोमा अघि बढाउँछ । तर त्यो दिशातर्फ सहजै रूपमा त जाँदैन । तर त्यसका लागि बहस हुन जरुरी छ । यसमा पत्रकारहरूको भूमिका बढी छ ।
आजको युगमा यसो हेर्छु–सोसल मिडिया २÷३ जना बसेर हेर्न पनि कठिन हुने जस्तो युगमा यहाँहरूको कलमले एउटा चेतना, सामाजिक दायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई अगाडि बढाउन सकियोस् ।
उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।