जनकपुरधाम, ८ चैत । धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए ।
गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।