काठमाडौं, ६ चैत । पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार अपरान्ह सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरिएको छ ।
न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा आर्थिक शिथिलता अन्त्य गर्ने, संघीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्नेगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको छ । शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुंग्याउने भनिएको छ ।
न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प तयार गर्न सत्ता गठबन्धनले १० सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले गत शनिबार नै मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको थियो ।
उक्त मस्यौदामा शीर्ष नेताको बैठक बसेर अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको छ ।