जनकपुरधाम, ४ चैत । आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पनि पक्राउ परेकी छन् ।
धनुषा प्रहरीले आज उनलाई भानु चोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माले धनुषा जिल्ला अदालतको आदेशपछि आरतीकी सासू रेणुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले फागुन २३ मा आरतीका देवर रविलाई जनकपुरधाम– ९ थापा चोकस्थित घरबाटै पक्राउ गरेको थियो । गत पुस ९ मै सर्वोच्च अदालतको आदेशले पक्राउ परेका आरतीका श्रीमान मोतीबाबु थुनामा छन् ।
गत जेठ ७ मा आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण श्रीमान, सासू, ससुरा, देवरलगायतले आरतीको हत्या गरेको माइती पक्षको आरोप छ ।
आरतीको मृत्यु प्रकरणमा माइती पक्षले आन्दोलन गर्दा तत्कालै पक्राउ परेका उनका श्रीमान मोतीबाबु अदालतबाट साधारण तारेखमा छुटेका थिए । त्यसपछि मुद्दालाई कमजोर बनाएको भन्दै आरतीका आमाबुवा, दाइ र बहिनीले आन्दोलन गर्दै आएका थिए ।
उनीहरुलाई काठमाडौंमा धर्ना बसेको झण्डै १० महिनापछि रवि लामिछाने गृहमन्त्री बनेको केही दिनमै वार्ता गरी धर्ना तोड्न लगाएका थिए ।