जनकपुरधाम, ४ चैत । मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुगेको छ ।
कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ ।
उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।
रंग, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताए । परिक्रमा आज कञ्चनवन पुगेर होलि खेल्ने भएपछि भंगहा नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
नगरपालिकाले परिक्रमा यात्रीको स्वागतको लागि सार्वजनिक बिदा दिएको निमित प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले जानकारी दिए ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् ।
कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ ।














