कैलाली, १ चैत । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जानकारी दिएके छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।
उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ ।
नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।