काठमाडौं, १ चैत । कुवेतमा एउटै कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ ।
मंगलबार (मार्च १२) मा कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो ।
दुर्घटनामा लयती पञ्चदेवल विनायक–५, अछामका सुरतबहादुर कठायत, नागार्जुन–२, काठमाडौँका सुजन कार्की र वेंगाडावर–३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिएका छन ।
तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे । स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।