जनकपुरधाम, २८ फागुन । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराउन लागेको छ । निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराउन पालिकाले इन्टरनेट प्रदायक कम्पनी सुबिसु केवलनेट लिमिटेड संग सम्झौता गरेको छ ।
केही दिनअघि गाउँपालिकाले निकालेको ई–बिडिङमा इन्टरनेट सेवा जडान गर्न सुबिसुले ठेक्का हात पारेको छ ।
सम्झौता भएसँगै सुबिसुले इन्टरनेटसेवा जडानका लागि आफ्नो प्राविधिक काम अगाडि बढाएको छ ।
चुनावको बेला ‘फ्रि वाइफाइ’ उपलब्ध गराउने मतदातासँग गरेको वाचाअनुसार यो प्रक्रिया अगाडि बढाइएको अध्यक्ष जयकुमार यादवले बताउनुभएको छ ।
उनले ‘फ्रि वाइफाइ’ सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाका सबै वडावासीले पैसा खर्च नगरी इन्टरनेटको सुविधा उपयोग गर्न पाउने भनेका छन ।
‘फ्रि वाइफाइ’ उपलब्ध भएसँगै इन्टरनेट प्रयोग गर्न पालिकावासीले डेटा खरिद गर्न गरिरहेको खर्च बचत हुने अध्यक्ष यादवले बताए । उनले ‘फ्रि वाइफाइ’ योजनाअन्तर्गत एकैपटक २० देखि २५ हजार मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन ।
अध्यक्ष यादवले भने, २० देखि २५ हजार मोबाइल फोन प्रयोगकर्ताले यो सेवा उपयोग गर्नसक्ने गरी ‘फ्रि वाइफाइ’ जडान गर्दैछौं । एउटा प्रयोगकर्ताले डेटा खरिद गर्न औसतमा मासिक ४ सय देखि ५ सय रूपैयाँ खर्च गर्छन् ।
निःशुल्क इन्टरनेट उपलब्ध भए वार्षिक कम्तीमा १ करोडबढी रकम बचत हुन्छ । यो पालिकावासीको बचत हुनेछ । ‘फ्रि वाइफाइ’ सेवा जडान भएर सञ्चालनमा आउँदा विद्यार्थीहरूलाई इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्न सहज हुने उनले बतााए ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै ‘फ्रि वाइफाइ’ सेवा जडान गर्न पहल गरे पनि वाधा अड्चन आएको बताउँदै अध्यक्ष यादवले अहिले आएर यो कार्यान्वयनमा आउन थालेपछि आफूलाई खुसी लागेको बताए ।
सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट (एपी)’ जडान गर्नेछ।प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।
डिपिआरमा ४१ एपी आवश्यक देखिए पनि इन्टरनेटको सहज उपलब्धताका लागि ४८ स्थानमा जडान गर्न लागिएको अध्यक्ष यादवले बताए ।
४५ दिनभित्र एपी जडानसहित सम्पूर्ण प्राविधिक कार्य पूरा गरेर जेठ १ गतेबाट ‘फ्रि वाइफाइ’ सेवा उपलब्ध गराउने लक्ष्य इन्टरनेट प्रदायक संस्था सुबिसुले जनाएको छ ।