जनकपुरधाम, २६ फागुन । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ ।
गोलबजार नगरपालिका–६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको छ । सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार सिलौटो(लोढी) प्रहार गरी हत्या भएको जस्तो देखिएको छ ।
अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो । मृतक अनिताका पति समेत घाइते छन् ।
उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे मात्र यो घटना विषयमा प्रहरीले जानकारी पाएको थियो ।
घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिए । घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।