काठमाडौँ, २४ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्ती संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।
बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेको टोलीसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रणमा लिने बताए ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको उनले जानकारी दिए ।
‘सरकारले लगानीको वातावरण बनाउँछ । सुरक्षाको प्रत्याभूति दिलाउँछ’, पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ ।
सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए । मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे ।