काठमाडौं, १८ फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले काठमाडौंमा महानगरपालिकाको आतंक चलिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा शुक्रबार विशेष समय लिएर उनले महानगरपालिकाको कार्यको आलोचना गरेका छन् । ‘काठमाडौंमा महानगरको आतंक चलेको छ ।
रोडमा स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाडीहरुमाथि डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ । महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? यदि लाग्छ भने सरकारले महानगरमाथि नियमन गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।
कवाडी सामान संकलन गर्नेहरु महानगरबाट आतंकित, असुरक्षित र त्रसित रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘हरेक व्यक्तिले व्यापार व्यावसाय गर्न पाउँछन् यो संवैधानिक हक हो ।
त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’ कवाड व्यवसायको सुरक्षाका लागि उनले सरकारसँग अनुरोध गरे ।