जनकपुरधाम, १७ फागुन । भाषा, साहित्य, संस्कृति, कला, गीत सङ्गीत तथा नाट्य विधाको संरक्षण गर्ने उद्देश्यले मधेश प्रदेश प्रदेश सरकारद्वारा स्थापना भएको मधेश प्रज्ञा प्रतिष्ठानले बिहिवार आफ्नो पहिलो स्थापना दिवस मनाएको छ ।
प्रथम वार्षिकोत्सवको अवसरमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरिएको कार्यक्रममा मिथिला पेन्टिङ, मूर्तिकला तथा परम्परागत गीतको संरक्षण तथा प्रवद्र्धनमा विशेष योगदान दिनुभएका तीन जना स्रष्टालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा धनुषाको धनौजी गाउँपालिकाका प्रसिद्ध मूर्तिकार योगेन्द्र पण्डित, मिथिला चित्रकलातर्फ जनकपुरधामको वडा नंं ३ का मिथिलेश्वरी देवी कर्ण, मूर्तिकलातर्फ र लोक गायनतर्फ सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वीरपुरका लोक गायक विष्णु यादव रहेको छ ।
यसैगरि कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने विभिन्न संस्कृतिसँग सम्बन्धित जातजातिहरूको नृत्य तथा सङ्गीतका साथै वाद्यवाजाहरु प्रदर्शन गरिएको थियो ।
सोही अवसरमा मधेश प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्दै आएको त्रैमासिक प्रज्ञा दर्पणको लोकार्पण गरिएको छ ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले प्रतिष्ठानले यस क्षेत्रको ६ वटा विधाको संरक्षणका साथै अनुसन्धान तथा खोजको कामलाई अगाडी बढाइरहेको बताए ।